काठमाडौं। गत असोज दोस्रो साताको बाढीले कुलेखानी जलविद्युत् केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन गरी प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई बुझाइएको छ।
उक्त क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले १५ दिन लगाएर स्थलगत अध्ययन तथा छानबिन गरी सोमबार प्रतिवेदन बुझाएको हो।
कुलेखानी ड्यामको ढोका मापदण्डअनुसार खोलिएको/नखोलिएको विषयमा विस्तृतरूपमा अध्ययन गरी भविष्यमा हुने क्षति न्यूनीकरण गर्ने विषयमा सुझाव दिएको समितिले जनाएको छ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत् केन्द्रको ड्यामको ढोका खोल्दा तल्लो तटीय क्षेत्रमा क्षति पुगेपछि ऊर्जामन्त्री खड्काले गत असोज २२ गते अध्ययन समिति गठन गरेका थिए।
विद्युत् विकास विभागका उपमहानिर्देशक गोकर्णराज पन्थको संयोजकत्वमा गठित उक्त समितिले तल्लो तटीय क्षेत्रमा भएको क्षतिको विषयमा स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन गरेको समितिले जनाएको छ।