म्याग्दी। पहिरोले बगाएको लघुजलविद्युत् परियोजनाको संरचना मर्मत नहुँदा चार महिनादेखि लुलाङ गाउँ अन्धकारमा छ। गत भदौ २० गते बाढीले बगाएको संरचना मर्मत नहुँदा धवलागिरि गाउँपालिका–२, लुलाङ गाउँका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन्।
लमसुङ्गस्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बाढीले बगाएको थियो। बाढीले विद्युत्गृह, कुलो र पोल बगाएको थियो। संरचना पुनःनिर्माण नहुँदा स्थानीयवासी सोलार र टुकीको भरमा बस्न बाध्य छन्।
विद्युत् आपूर्ति बन्द हुँदा वडा नं २ का खोरिया, लुलाङ, लमसुङ्गलगायतका ३५४ परिवार प्रभावित भएका छन्। विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ। विसं २०७३ मा पहिराले जुगेपानीस्थित २५ किलोवाट क्षमताको विद्युत्गृह बगाएपछि सोही परियोजनालाई २०७५ सालमा मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो।