भगीरथ भण्डारी
इलाम। इलाम नगरपालिकाले आँखा अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याएको छ। नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र व्यवस्थापनको लागि स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरी अस्पताल निर्माण गरेको नगर उपप्रमुख शुशिला नेम्माङले जानकारी दिइन्।
जिल्लामा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताइएको छ । सामुदायिक आँखा अस्पताल निर्माणको लागि अघिल्लो आर्थिक वर्षमा इलाम नगरपालिकाले रकमान्तर गरेर ५० लाख रुपैयाँ जुटाएको थियो ।
चालु आर्थिक वर्षमा भने एक करोड रुपैयाँ विनियोजन भएको छ । विनियोजित रकममध्ये ५७ लाख ९० हजार रुपैयाँ खर्च भएको छ। त्यसमध्ये ५३ लाख २४ हजार रुपैयाँ पुँजीगतमा र चार लाख ६५ हजार रुपैयाँ सञ्चालनमा खर्च भएको छ।
सामुदायिक आँखा अस्पतालमा अहिले शल्यक्रिया बाहेकको सेवा उपलब्ध छ। आँखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य अप्रेसन, चस्मा बनाउने लगायतको सेवा दिइनेछ। जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो। सामुदायिक आँखा अस्पतालमा सातौ तहको एक जना नेत्र विषेशज्ञ, पाँचौ तहको एक जना नेत्र सहायक, एक जना फार्मेसिष्ट र एक जना चस्मा बनाउने प्राविधिक कार्यरत छन्।