मोरङ। सुन्दरहरैंचा नगरपालिकामा ‘बुधबारे कृषि बजार’ आयोजना निर्माणका लागि सम्झौता भएको छ। सुन्दरहरैंचा नगरपालिका–९ वृहतचोकको हाटबजारलाई व्यवस्थित कृषि बजारको रुपमा विकास र विस्तार गराउन नगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको हो।
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र नगरप्रमुख शिव प्रसाद ढकालबीच सम्झौता भएको हो। आयोजना निर्माणका लागि कुल अनुमानित लागत १४ करोड २६ लाख मध्ये कोषको तर्फबाट ८० प्रतिशत र नगरपालिकाले २० प्रतिशत लगानी व्यहोर्ने नगरप्रमुख ढकालले जानकारी दिए।
सम्झौताको क्रममा नगरप्रमुख ढकालले यस आयोजनालाई नगरपालिकाको नमुना कृषि पूर्वाधरको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। कोषका कार्यकारी निर्देशक सापकोटाले नगरपालिकामा निर्माण हुने यस आयोजनाले हालको अव्यवस्थित कृषि बजार व्यवस्थित हुने र यस आयोजनाले स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
सुन्दरहरैंचा नगरपालिकाको १० रोपनी क्षेत्रफलमा निर्माण हुने यो आयोजना नगरपालिकाको महत्वपूर्ण कृषि पूर्वाधार आयोजनाको रुपमा हेरिएको छ।