झापा। मेचीनगर नगरपालिका–१० मा कृषिमण्डी निर्माणका लागि सम्झौता गरिएको छ। कृषिमण्डी निर्माणका लागि नगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको हो।
करिब सात बिघा जमिनमा बन्ने कृषिमण्डीका लागि ९ करोड ६५ लाख २३ हजारको ऋण सम्झौता भएको हो। कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र नगर प्रमुख विमल आचार्यले सम्झौतामा हस्ताक्षर गरेका छन्।
मेचीनगर कृषिमण्डी आयोजना निर्माणको कुल अनुमानित लागत रकम १२ करोड ८६ लाख ९८ हजारको ७५ प्रतिशत ऋण रकम कोषबाट र २५ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने छ।
सम्झौताका क्रममा नगरप्रमुख आचार्यले बृहत् नमुना कृषि पूर्वाधार आयोजनाका रूपमा स्थापित हुने बताए। उनले आयोजना गुणस्तरीय र समयमै सम्पन्न हुने प्रतिबद्धता समेतव्यक्त गरे। सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले नगरपालिकामा निर्माण हुने आयोजनाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रूपमा विकास हुने र स्थानीय उत्पादनको बजारीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए।