काठमाडौं। दैलेखको भैरीकालिकाथुममा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ। भैरबी गाउँपालिकाको माताहतमा सो अस्पताल भवन निर्माण हुन लागेको हो।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले अस्पताल भवन निर्माण कार्यलाई अघि बढाएको छ। सो क्षेत्रमा रहेको जनताहरुलाई सहजै स्वास्थ्य सेवा तथा सुविधाको पहुँच पुर्याउने उद्देश्यले अस्पताल निर्माण गर्न लागिएको हो। अस्पताल निर्माण भएपछि त्यहाँको स्थानीयले स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपर्ने विश्वास राखिएको छ। अस्पताल निर्माण हुने कुराले स्थानीयहरु खुसी भएका छन्। सो अस्पताल निर्माण भएपछि गाउँपालिकाबाटै स्तरीय सेवा उपभोग गर्न पाउने कुरामा गाउँपालिका विश्वस्त रहेको छ।
अस्पतालको अभावमा बिरामीले समयमा नै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्ने लक्ष्यका साथ अस्पताल निर्माणको योजनालाई अघि बढाइएको हो। सो अस्पताल भवन साढे ९ करोड भन्दा बढी लागतमा निर्माण गर्न लागिएको हो। अस्पताल निर्माणको लागि छनोटमा परेको निर्माण कम्पनी ड्र्यागन–बीकन जेभीले ठेक्का कबोल गरेको छ। हाल सो अस्पताल निर्माणका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौताको चरणमा रहेको छ।