काठमाडौं। लमजुङको मालिङमा क्व्होलासोथार गाउँपालिकाको प्रशासकीय भवन र मालिङ प्राथमिक अस्पतालको भवन उद्घाटन गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।
भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपाल सरकारको डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्ने सुरुआती थलोको रुपमा लमजुङलाई लिएकाले यहाँका घर घरमा इन्टरनेट र टेलिफोन सेवा पुर्याइने बताए । जिल्लालाई यस वर्ष पूरै सूचना प्रविधिमैत्री बनाउनने दाबी समेत गरे।
उनले इन्टरनेट र टेलिफोन सेवा विस्तारपछि यहाँका सरकारी कार्यालयमा सूचना प्रविधिमार्फत सेवा प्रदान गरेर आधुनिक प्रशासन प्रणालीमा जोड दिइने मन्त्री गुरुङले बताए । अहिलेको समय सूचना प्रविधिको भएकाले विद्यालय शिक्षा प्रविधियुक्त बनाउन लमजुङका सबै समुदायिक विद्यालयमा कम्युटर ल्याब उपलब्ध गराइने उनले उल्लेख गरे ।