काठमाडौं। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नवलपुरको नमूना सदरमुकाम निर्माणका लागि रुख कटान गर्न स्वीकृती प्राप्त भएको छ। कावासोती नगरपालिका–३ मा नमूना सदरमुकाम निर्माण हुने क्षेत्रका ६ सय ४२ वटा रुख काट्न मन्त्रीपरिषद्ले स्वीकृती दिएको हो।
यसअघि रुख कटानको अनुमति नहुँदा ठेक्का लागेर पनि लामो समयदेखि काम सुरु हुन सकेको थिएन। मन्त्रिपरिषद्ले रुख हटाउन स्वीकृत दिएको र अब लिखित आदेश आएपछि निर्माण क्षेत्रका रुख कटान सुरु गरिने डिभिजन वन कार्यालय नवलपुरले जनाएको छ।
सदरमुकाम निर्माणका लागि एक सय ८४ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइएको थियो । उक्त जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माण गर्ने योजनाका साथ २०७६ साल वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नमूना सदरमुकामको शिलान्यास गरेका थिए ।