काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्व उद्योग वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले सामुदायिक स्वास्थ्य इकाईका लागि भवन बनाएका छन्। विश्वकर्माले आफ्नो निजी लगानी ६० लाख लागतमा आफ्ना स्वर्गीय बुवाआमाको स्मृतिमा सामुदायिक स्वास्थ्य इकाईका लागि भवन निर्माण गरिदिएका हुन्।
भवन सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित बराह मन्दिर परिसरमा निर्माण गरिएको छ। नवनिर्मित भवनको आइतबार उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेर बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाले उक्त भवनबाट सामुदायिक स्वास्थ्य इकाईको सेवा सञ्चालन गर्नेछ ।
हाल कांग्रेसको केन्द्रीय सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुखसमेत रहेका नेता विश्वकर्माले आफ्ना स्वर्गीय आमा टिकामाया र स्वर्गीय बखत्बहादुरको सम्झनामा उक्त भवन निर्माण गरेका हुन् ।