काठमाडौं। सिरहाको कर्जन्हा नगरपालिकाले बर्थिङ सेन्टर निर्माण गर्ने भएको छ। कर्जन्हा नगरपालिकाको कार्यलयले कर्जन्हामा बर्थिङ सेन्टर निर्माण गर्न लागेको हो।
सुरक्षित बर्थिङ सेन्टर स्थापना गर्ने सरकारको नीतिलाई अवलम्बन गर्दै नगरपालिकाले बर्थिङ सेन्टर निर्माण गर्न लागेको हो। यसैगरी अहिले सरकारले गर्भवती महिलालाई चारपटक अनिवार्य सुई र बर्थिङ सेन्टरमा बच्चा जन्माउनेलाई प्रोत्साहन भत्ताको पनि व्यवस्था गरेको छ।
बर्थिङ सेन्टर नहुँदा सुत्केरी हुने अवस्थाका महिलामा सामान्य समस्या देखिए पनि दुई, अढाई लाख रुपैयाँ खर्चेर हेलिकप्टर चार्टर गराउनुपर्ने त्यहाँको स्थानीयको बाध्यता रहेको छ। यस्तो अवस्थामा हेलिकप्टर चार्टर गर्न नसक्ने अवस्थाका कैयौं सुत्केरी र बच्चाको मृत्यु अकालमा नै ज्यान पनि जाने गरेको छ। साथै बर्थिङ सेन्टर अभावमा गर्भवती महिलाले नियमित खोप पनि लगाउन नपाउँदा आमा तथा बच्च दुबैलाई समस्या पर्ने गरेको पाइएको छ।
यस्तै दर्दनाक अवस्थाको अन्त्य गर्ने तथा गर्भवती महिलालाई सुरक्षित प्रसूति सेवा सेवा प्रदान गर्ने उद्देश्यले नगरपालिकाले बर्थिङ सेन्टर निर्माणको योजनालाई अघि बढाएको हो। सो बर्थिङ सेन्टर निर्माण भएपछि कोही पनि गर्भवती महिलाले अकालमा ज्यान गुमाउनु नपर्ने नगरपालिकाको दावि रहेको छ। नगरपालिकाको कार्यलयले बर्थिङ सेन्टर निर्माणको लागि ठेक्का आह्वान समेट गरिसकेको छ। ठेक्का प्रक्रिया पुरा भएपछि बर्थिङ सेन्टर निर्माणलाई तिव्रता दिई छिट्टै बर्थिङ सेन्टर निर्माण गरी त्यहाँका स्थानीय गर्भवती महिलालाई गुणस्तरी सेवा प्रदान गर्ने नगरपालिकाको लक्ष्य रहेको छ। सो सेन्टर निर्माण भएपछि गर्भवती महिलाले प्रसूति सेवा सहज रूपमा पाउन सक्ने स्थानीयको विश्वास रहेको छ।