काठमाडौं। माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर सरकारले आजदेखि निजी आवास पुनर्निर्माण सुरु गर्ने भएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार पत्रकार सम्मेलन गरी डोटी भूकम्प प्रभावितको निजी आवास निर्माणबाट पुनर्निर्माण सुरु गर्ने जानकारी दिएको हो।
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आइतबार बसेको सोह्रौँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपत्पश्चात्को पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि योजना स्वीकृत गरेको छ। भूकम्प तथा मनसुनी विपत्बाट एक लाख १५ हजार ५५८ घरधुरी निजी आवास पुनर्निर्माण गर्नुपर्ने देखिएको छ ।
आज डोटी भूकम्पका लाभग्राहीसँग स्थानीय पालिकाको वडाले सम्झौता गरेपछि पुनर्निर्माण प्रक्रिया सुरु भएको घोषणा गरिने छ । क्षतिको विस्तृत आकलन नभएका क्षेत्रमा पनि सोही दिनदेखि विस्तृत विवरण सङ्कलन सुरु गरिने भएको छ ।