काठमाडौं। धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउन सुरु गरिएको छ। उपत्यका विकास प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गरेर भवन भत्काउने जानकारी गराएसँगै डोजरले धोविखोला करिडोरका संरचना भत्काउन सुरु गरेको हो।
मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्य अनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले जनाएको छ।
आइतबार चाबहिलस्थित मालपोत कार्यालयसँगै बनेका भवन भत्काइएको छ। आइतबार उक्त भवन भत्काउन डोजर पुग्दा भने केहीबेर स्थानीयले अवरोध गरेका थिए।
धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गर्दै प्राधिकरणले भाडा प्रयोजनका लागि व्यक्तिहरूले बनाएका त्यस्ता संरचना भत्काउने प्राधिकरणको भनाइ छ।