कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले अतिविपन्न परिवारको घरको छानामा जस्तापाता राख्नका लागि रकम उपलब्ध गराउन थालेको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले खर, पराललगायतको छानायुक्त घर भएका परिवारको छनोट गरी रकम उपलब्ध गराउन थालेको हो ।
सुरक्षित आवासअन्तर्गत गरिबीको रेखामुनि रहेका र प्रकोपका कारण घरवारविहीन भएका परिवारको छनोट गरी आवास निर्माणका लागि दोस्रो किस्ताबापतको रकम उपलब्ध गराउने कार्य भइरहेको नगरपालिकाले जनाएको छ।
शून्य रकममा बैंकमा खाता खोली आवास निर्माणका लागि एक सय ३६ परिवारलाई दोस्रो किस्ताबापतको २० हजार रकम उपलब्ध गराउन थालेको बताइएको छ। यसअघि पहिलो किस्ताबापत ती परिवारलाई ३० हजारका दरले रकम उपलब्ध गराइएको थियो ।
कार्यक्रमअन्तर्गत नगरपालिकामा सुरक्षित आवासका लागि दुई सय ५६ जना छनोट भएकोमा तीमध्ये दुई सय ५६ परिवारले पहिलो किस्ताबापतको रकम पाइसकेको सबइञ्जिनियर ऐरले बताए । एक सय २१ परिवारले पहिलो र दोश्रो किस्ताबापतको रकम पाएर सुरक्षित आवास निर्माण गरी बस्दै आएका छन् ।