काठमाडौं। उदयपुरको बेल्टारमा १५ शैय्याको प्राथमिक अस्पताल निर्माण गरिने भएको छ। चौदण्डीगढी नगरपालिका कार्यपालिकाको कार्यलयले उक्त अस्पताल निर्माण गर्न लागेको हो।
सो क्षेत्रको प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच पुर्याउने उद्देश्यले अस्पताल निर्माण गर्न लागिएको नगरपालिकाको कार्यलयले जनाएको छ। हरेक पालिकामा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार नगरपालिकाले अस्पताल भवन निर्माण अघि बढाएको हो। पालिकामा नै गुणस्तरीय आधारभुत स्वास्थ्य सेवामा नागरिकहरुको पहुँच सुनिश्चित गर्न अस्पताल भवन निर्माण गर्न लागिएको हो।
अस्पतालको अभावमा सो क्षेत्रको नागरीकलाई बिरामी हुँदा उपचार गराउन जिल्ला बाहिर जानुपर्दा धेरै समस्या हुने गरेको छ। समयमा नै उपचार नपाएर कतिपयले अकालमा नै ज्यान गुमाउनु परेको छ। यी सबै दर्दनाक अवस्थालाई अन्त्य गर्नको लागि चौदण्डीगढी नगरपालिकामा अस्पताल निर्माण गर्ने योजनलाई अघि बढाइएको हो।
उक्त अस्पताल ओम्बुद्ध–गलवा–चेनलिंक जेभी निर्माण कम्पनीले निर्माण गर्ने भएको छ। यस कम्पनीले अस्पताल भवन निर्माणको लागि १२ करोड ४३ लाख भन्दा बढी लागतमा ठेक्का कबुल गरेको छ। हाल सो अस्पताल निर्माण ठेक्का सम्झौताको चरणमा रहेको छ। सम्झौताको चरण सकिएपछि अस्पताल निर्माण कार्य अघि बढाउने नगरपालिकाले जनाएको छ।