काठमाडौं। सरकारले विद्युत व्यापारका लागि नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी ‘विद्युत् व्यापार कम्पनी’लाई अनुमति दिएको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कम्पनीलाई राष्ट्रिय तथा अन्तरदेशीय विद्युत व्यापारको अनुमतिपत्र दिएको हो।
अनुमति प्राप्त गरेसँगै अब ‘विद्युत व्यापार कम्पनी’ले पनि विद्युत् व्यापारको काम गर्न सक्ने छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई पनि अन्तरदेशीय विद्युत व्यापार गर्न अनुमतिपत्र दिन सकिने बताइन्। उनले विद्युत व्यापारको लाइसेन्स लिन र बेच्न मात्रै चलखेल गर्ने तर काम नगर्ने पुरानो प्रवृत्तिमाथि भने विचार पुर्याइने बताइन्।
भरपर्दो र ठोस आधारसहित विद्युत व्यापार गर्न आउनेलाई लाइसेन्स दिने उनले प्रतिबद्धता जनाइन्। मन्त्री भुसालले विद्युत व्यापारको अनुमति हालका लागि प्राधिकरणको सहायक कम्पनीले पाएपनि भविष्यमा निजी क्षेत्र पनि पाउने जानकारी दिइन्।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब अन्तरदेशीय विद्युत व्यापारको काम प्राधिकरणको सहायक कम्पनीमार्फत अघि बढ्ने बताए। उनले नेपालमा उत्पादित बिजुली विदेश निर्यात गर्न निजी कम्पनी प्रतिस्पर्धामा आएमा प्राधिकरणले त्यसको स्वागत गर्ने बताए ।