झापा। झापाको मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ । वन डिभिजन कार्यालयले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वनरक्षक टोली परिचालन गरी आज उक्त अतिक्रमण हटाएर वनक्षेत्र खाली गराइएको हो।
वन डिभिजनको पहलमा डोजर लिएर सुरक्षाकर्मी पुग्दा स्थानीय व्यवसायीसँग केहीबेर विवाद भएको थियो । वन कार्यालयले अतिक्रमण हटाइछाड्ने अडान राखेपछि स्थानीयले अस्थायी टहरा आफैं हटाएका थिए । तीन पटक सार्वजनिक सूचना र पटकपटक छलफल गर्दासमेत अतिक्रमण नहटाइएपछि बाध्य भएर वनक्षेत्र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गर्नुपरेको कार्यालयले जनाएको छ।
स्थानीय बासिन्दाले अस्थायी टहरा हटाएर बजार स्थानान्तरण गर्न १० दिनको समय मागेको मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले बताए । स्थानीयले १० दिनभित्र आफैँ अस्थायी टहरा हटाएर लैजाने भन्दै नगरपालिकामा निवेदन दिएका थिए ।