काठमाडौं। गोर्खाको सिराञ्चोक गाउँपालिकामा नहर निर्माण हुने भएको छ। जिल्लाको छोप्राक जौवारीमा थिमान्टार नहर निर्माण हुने भएको हो। सिराञ्चोक गाउँपालिका कार्यपालिकाको कार्यलयले सो नहर निर्माण गर्न लागेको हो।
सो क्षेत्रमा सिँचाइ सुविधाबाट बञ्ति भएका किसानहरुलाई लक्षित गरी सो नहर निर्माण गरिने भएको हो। नहर निर्माण भएपछि छोप्राकका अधिकांश खेतियोग्य जमिन सिँचित हुने छ। नहर निर्माणले कृषि उत्पादनमा मद्धत पुर्याउने छ। सो नहर निर्माण भएपछि त्यस क्षेत्रको कृषियोग्य जमिन बाजो नबस्ने स्थानीयको विश्वास छ। नहर निर्माण भएपछि किसानहरुले खेति गर्न सिजन कुर्नु पर्दैन। सिँचाइको माध्यमबाट बाह्रै महिना खेती गर्न पाउने छन्। यसले आर्थिक गतिविधिलाइ पनि बढावा दिने छ। जुन कार्यले देशको अर्थतन्त्रको विकासमा पनि टेवा पुग्ने देखिएको छ।
गाउँपालिकाले नहर निर्माणको लागि ठेक्का आह्वानसमेत गरिसकेको छ। साथै ठेक्का प्रक्रिया पुरा भएपछि नहर निर्माणको कामलाई अघि बढाउने गाउँपालिकाको योजना रहेको छ। यस कार्यले त्यहाँका स्थानीय किसानहरु हर्षित भएका छन्। उक्त सिँचाइ नहर निर्माणको लागि करिब ८५ लाख लागत लाग्ने अनुमान गरिएको छ।