सर्लाही। सर्लाहीको चिताइनस्थित मन्दिर परिसरमा धर्मशाला भवन निर्माण गरिएको छ। हरिपुर नगरपालिका–७, चिताइनस्थित मन्दिर परिसरमा बनेको दुुई तले पक्की धर्मशाला भवनको शनिबार दिउँसो सर्लाही क्षेत्र नं. १ (ख) का मधेश प्रदेशसभा सदस्य बेची लुुङ्गेली र संविधान सभा सदस्य रामचन्द्र चौधरीले संयुक्तरूपमा उदघाटन गरेका हुन्।
लक्ष्मीनाथ चिताइन महादेव विकास समितिले प्रदेशसभा सदस्य लुुङ्गेलीको संसदीय विकास कोष, प्रदेश सरकारको पर्यटन मन्त्रालय र वडाको समेत गरी करिब ४० लाख रुपियाँ खर्चिएर धर्मशाला भवन तयार पारिएको जानकारी दिएको छ।
नवनिर्मित धर्मशाला भवनलाई आगामी दिनमा पाहुना तथा साधुसन्त आउँदा बास बस्न र गाउँघरमा हुने विभिन्न धार्मिक तथा सामाजिक कार्यमा प्रयोग गरिने लक्ष्मीनाथ चिताइन महादेव विकास समितिले जनाएको छ । जिल्लाकै ऐतिहासिक स्थलको रूपमा रहेको लक्ष्मीनाथ महादेव मन्दिर चिताइनमा भर्खरै जीर्णोद्वारको काम गरिएको छ ।