काठमाडौं। मोरङको पथरी शनिश्चरे नगरपालिकाको भवन निर्माणका लागि वनको जग्गा प्रयोग गर्न सरकारले स्वीकृति प्रदान गरेको छ। फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले पथरी शनिश्चरे नगरपालिकाप्रशासनिक भवन निर्माणको लागि सोही नगरपालिको वडा नं १० मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो।
मन्त्रीपरिषद बैठकले नेपाली सेनाको महासेनानी पदमा एकजना र सहायक रथी पदमा एकजनालाई बढुवा गरेको छ। साथै सरकारले एक जना महासेनानी, दुई जना सहायक रथी र एकजना उपरथीको पदावधि थप गरेको छ ।
त्यसैगरी सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय (पशुपंक्षी विकास) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझा, कञ्चनपुरलाई नियुक्त गरेको छ ।