काठमाडौं। दाङको गढवा गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण गरिने भएको छ। ग्रामिण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्याउन हरेक पालिकामा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार दाङको गढवामा पनि अस्पताल निर्माण गर्न लागिएको हो। गढवा गाउँपालिका कार्यपालिकाको कार्यालय गढवा दाङले सो अस्पताल निर्माण गर्न लागेको हो।
सो अस्पताल निर्माणको लागि अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा बजेट बिनियोजन गरेको छ। गाउँपालिकाले अस्पताल भवन निर्माणको लागि ठेक्का आह्वान गरिसकेको छ। अस्पताल निर्माण भएपछि त्यहाँका कुनै पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्दैन। अस्पताल भवन निमार्ण भएपछि गाउँमै आधारभूत उपचार सेवाको शुरुवात हुने भएको छ।
गाउँमै विशेषज्ञ सेवा प्रदान गर्नका लागि सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने योजना अघि सारेको हो। सरकारको उक्त नीति अनुरुप दाङको घोराही उपमहानगरपालिकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुर उपमहानगरपालिकामा राप्ती प्रादेशिक अस्पताल र बङ्गलाचुली गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालनमा रहेका छन्। हाल दाङको गढवा गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण गर्न लागिएको छ भने अन्य पालिकाहरु पनि अस्पताल निर्माण गर्ने योजनामा रहेका छन्।
उक्त अस्पताल निर्माणको लागि २२ करोड लागत लाग्ने अनुमान गरिएको छ। अस्पताल निर्माण भएपछि पालिकाबाटै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ। यस कार्यले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासमा पनि टेवा पुग्ने छ।