काठमाडौं। अछामको पञ्चदेवल गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरिएको छ। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सोमबार भवनको उद्घाटन गरेका हुन्।
उद्घाटनका क्रममा मन्त्री सिंहले प्रशासकीय भवन बनेसँगै अछाम पञ्चदेवलका नागरिकका लागि सेवा प्रवाहमा सहज हुने बताए। भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले प्रदेश र स्थानीय तहलाई प्रभावकारी बनाउन संविधानमा व्यवस्था भएअनुसार आवश्यक संघीय कानून चाँडो भन्दा चाँडो बनाउनेतर्फ सरकारको ध्यान रहेको बताए।
आवश्यक संघीय कानून बनाएर संविधानको अनुसूचीमा व्यवस्था भएको अधिकार तिनै तहको सरकारलाई दिएर जनतालाई सहज सेवा प्रवाह दिएर केन्द्रीकृत एकात्मक शासन व्यवस्था भन्दा संघीयता राम्रो हो भन्ने बनाउन सरकारको ध्यान केन्द्रीत रहेको समेत मन्त्री सिंहको भनाइ छ।
उपप्रधानमन्त्री सिंहले देशमा राजनीतिक स्थायित्व विना आर्थिक, सामाजिक विकास नहुने भन्दै राजनीतिक स्थिरताको जगमा आर्थिक विकास र समृद्धिका लागि नेपाली कांग्रेस र एमालेसहितका दलहरू मिलाएर गठबन्धनको सरकार बनेको दाबी समेत गरे।