काठमाडौं। खेलाडी र खेल पूर्वाधार विकासका लागि तेह्रथुमको लालीगुराँस नगरपालिकाले ब्याडमिन्टन हल ट्रस निर्माण गर्ने भएको छ। उक्त हल निर्माण लालीगुराँस नगरपालिका कार्यपालिकाको कार्यालय बसन्तपुर, तेह्रथुमले गर्ने भएको हो।
तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मुसाङ्गखेलमा ब्याडमिन्टन हल निर्माण हुने भएको हो। यसका लागि नगरपालिकाको कार्यलयले बोलपत्र आह्वान समेत गरिसकेको छ। सो क्षेत्रमा ब्याडमिन्टन हल निर्माण भएपछि खेलकुद विकाससँगै सामाजिक गतिविधि पनि बढ्ने देखिएको छ। सो क्षेत्रका ब्याडमिन्टन खेलाडीहरुका लागि उचित खेल स्थान नभएकाले लामो समयदेखि गुनासो पोख्दै आएका थिए सोहि कुरालाई मध्यनजर गर्दै नगरपालिकाले ब्याडमिन्टन हल निर्माण गर्ने योजना अघि बढाएको हो। सो हल निर्माणको लागि ३० लाख भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ।
पुराना पुस्ताले स्वास्थ्य र कसरतका लागि खेल्ने ब्याडमिन्टन खेल हाल लोकप्रिय बनेको छ। नयाँ र फुर्सदिला पुस्ताका खेलाडीले करिअर तथा स्वास्थ्यका लागि ब्याडमिन्टन खेले पनि कामकाजी र व्यावसायिक पुस्ताका लागि भने ब्याडमिन्टन सोखिन खेलका रूपमा लोकप्रिय रहेको छ।