काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिकालाई अस्पताल भवन लगायतका संरचना निर्माण गर्न सरकारले जग्गा उपलब्ध गराउने भएको छ ।
गत चैत १८ को मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको नाममा रहेको लमजुङको साविक सुन्दरबजार गाविस वडा नं ९ को १५ रोपनीभन्दा बढी सार्वजनिक जग्गा सुन्दरबजार अस्पतालको भवनलगायत भौतिक संरचना निर्माण गर्न नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिएको हो ।
मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी दिएका हुन् । जग्गा उपलब्ध भएसँगै अब सुन्दरबजार अस्पतालको निर्माण कार्य अगाडि बढ्ने नगरपालिकाले जनाएको छ ।