खोटाङ। ऐसेलुखर्क गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनको काम पूरा हुने चरणमा पुगेको छ । ऐसेलुखर्कको वडा नं ३ ऐसेलुखर्क बजारमा निर्माण गरिएको १५ शैय्याको अस्पताल भवनको काम हालसम्म ९९ प्रतिशत सम्पन्न भएको हो ।
ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नेपाल सरकारको लगानीमा १९ करोड ३० लाख ४४ हजार ३०० को लागतमा निर्माणाधीन भवनको काम अबको एक महिनामा पूरा हुने निर्माण कम्पनीले जनाएको छ ।
अस्पताल भवन एक महिनाभित्र गाउँपालिकालाई हस्तान्तरण गर्नेगरी रङरोगनको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
भवनको भूइँतलामा इमरजेन्सी ल्याब र ऐक्सरे सेवा, पहिलो तलामा शल्यक्रिया र ओपिडी सेवा, दोस्रो तलामा वार्ड र प्रशासन तथा अन्तिम तलामा भण्डारण र क्लिनिङ रहेको छ ।
भवन निर्माणको काम २०८० माघ २३ गने सम्पन्न गर्नेगरी २०७९ साउन २६ गते श्यामसुन्दर–गोरखा–तुवाचुङ जेभीसँग ठेक्का सम्झौता भएको थियो ।