बैतडी। सरकारले स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने भन्दै गत वर्ष मंसिर १५ गते देशका ३ सय ९६ स्थानीय तहमा एकै दिन शिलान्यास कार्यक्रम गरेको थियो। जसमा जसमा बैतडीका ७ वटा स्थानीय तहमा पनि आधारभूत अस्पताल बनाउने योजना थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा अस्पतालहरूको शिलान्यास भएको थियो। जिल्लाका ७ वटा स्थानीय तहमा अस्पताल निर्माण गर्ने योजना बनाएको भएतापनि अहिलेसम्म कुनै पालिकामा पनि आधारभूत अस्पताल बनाउने योजना अघि बढ्न सकेको छैन।
अस्पताल निर्माण कहाँ बनाउने विवादका कारणनै काम अगाडी बढ्न नसकेको हो। स्थानीयको माग एकातिर छ भने जनप्रतिनिधि अर्कैतिर बनाउने सुरमा रहदा काम अघि बढ्न सकेको छैन। पालिकाका पहुँचमा पुगेका नेताहरूले पनि आफूलाई पायक पर्ने ठाउँमा अस्पताल निर्माण गर्न खोज्दा पनि धेरै पालिकामा विवाद भएको छ।
सरकारले स्वास्थ्यचौकीलाई स्तरोन्नती गरेर बनाउने बताए पनि पालिका भएकै ठाउँमा बनाउने एक थरी स्थानीयको माग भएकोले कामै सुरु हुन नसकेको हो। अहिलेसम्म सम्पन्न हुनुपर्ने काम अहिले सुरु हुँदै छ।