झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको शिलान्यास गरेका छन् । नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको शिलान्यास गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनतालाई उपचारको सुविधा दिन सक्ने बताए । उनले आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने दाबी गरे । प्रधानमन्त्री ओलीले भने सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील छ ।
२०८३ साल माघमा निर्माण पूरा गर्नेगरी १२ करोड ५९ लाख लागतमा जे एण्ड जे निर्माण सेवासँग सम्झौता भएको छ । भवन दुई बिघा क्षेत्रमा निर्माण हुने छ ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ श्ययाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकामा जग्गाप्राप्तिमा विलम्ब भएका कारण गौरादहमा अस्पताल भवन निर्माण सुरु हुन सकेको थिएन ।