कास्की । सरकारले पोखराको आपत्कालीन गोदामघर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममार्फत गोदामघर गृह मन्त्रालयले गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।
गोदम घर विश्व खाद्य कार्यक्रमको सहयोगमा निर्माण गरिएको हो । हस्तान्तरणको क्रममा गृह मन्त्रालय र गण्डकी प्रदेश सरकारबीच ५ बुँदे सहमति भएको छ ।
गोदाम घरका कर्मचारी र सुरक्षाकर्मीलाई विश्व खाद्य कार्यक्रमले आवश्यक तालिम र प्राविधिक सहयोग गर्ने, गोदाम घरमा विद्यमान सहायता सामग्रीको विवरण प्रदेश विपद् व्यवस्थापन समितिको रोहबरमा प्रदेश सरकारले तोक्ने गोदाम प्रमुखलाई बुझाउने, हस्तान्तरण गरिएका सामग्रीको सुरक्षा, थप सामग्री प्राप्ती, पुनर्भरण, भण्डारण परिचालन, स्तरीकरण, अभिलेख व्यवस्थापन र बीमासम्बन्धी काम प्रदेश सरकारले गर्ने, हस्तान्तरण प्रक्रिया सम्पन्न गर्ने क्रममा आवश्यक समन्वय र सहजीकरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्ने र गोदाम घर संचालनसम्बन्धी अन्य व्यवस्था राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत आपत्कालीन गोदामघर सञ्चालन कार्यविधि, २०८१ बमोजिम हुने सहमति छ । सहमति पत्रमा गृहमन्त्री रमेश लेखक र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हस्ताक्षर गरे ।