काठमाडौं । विराटनगर भन्सार क्षेत्रमा रहेको आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । मंगलबार संघीय सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकले विराटनगरस्थित भन्सार परिसरमा रहेको गोदाम घरको साँचो मुख्यमन्त्री हिक्मत कार्कीलाई हस्तान्तरण गरेका हुन्।
गोदामको चाबी हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले सरकारले गोदाम घर हस्तान्तरण मात्र नभई संघीयताको कार्यान्वयनका लागि समेत यो कदम उठाएको बताए ।
यो घरमा टेन्ट, त्रिपाल, सेल्टर किट, स्लीपिङ ब्याग, ब्लाङ्केट लगायत ११ प्रकारका सामग्रीहरू छन्। नेपाल सरकारले हरेक प्रदेशमा यस्ता गोदामहरू निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्दै आएको छ। यी गोदामहरूमा दातृ निकायहरूले उपलब्ध गराएका विपद् व्यवस्थापन सम्बन्धी अत्यावश्यक सामग्रीहरू भण्डारण गरिएका छन्।
अबदेखि विराटनगर भन्सार क्षेत्रमा रहेको गोदाम घर र त्यसको क्षेत्र प्रदेश सरकारको मातहत रहने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।