काठमाडौं । बाढीले क्षति पुर्याएको महाकालीको बाँध पुनर्निर्माणको काम सुरु भएको छ । गत वर्षको भदौमा आएको बाढीले भत्काएको महाकाली चार लेन पुलको गाइडबन्ड पुनर्निर्माण गर्न सुरु गरिएको हो ।
बाढीले २ सय मिटर बाँध भत्काएपछि नदी बस्ती तर्फ मोडिँदा पुल, पहुँच मार्ग र बस्ती जोखिममा परेका थिए । सरकारले जेठ ६ गतेको मन्त्रिपरिषद् निर्णयमार्फत उक्त क्षेत्रलाई विपत् संकटग्रस्त घोषणा गर्दै नेपाली सेनालाई जिम्मेवारी दिएको हो ।
सेनाले अहिले भत्किएको २६५ मिटर गाइडबन्ड र २६ सय मिटर नदी च्यानलाइजेसनको काम सुरु गरेको छ । पहिलो चरणमा २०० जनशक्ति खटाइएको छ ।