काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष तथा ग्लोबल आइएमई बैंक, आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेटले निजी क्षेत्रका धेरैजसो सुझावहरु समेटेको बताएका छन् ।
इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको ‘बजेट अ होलिस्टीक डिस्कोर्स’मा बोल्दै उनले निजी क्षेत्रका धेरैजसो सुझावहरुलाई आगामी आर्थिक बर्ष २०८२/८३ को बजेटले समेटेको बताए ।
कार्यक्रममा बोल्दै उनले बजेट निजी क्षेत्रको ‘कि ड्राईभर’को रुपमा आएकाले निजी क्षेत्रलाई उत्साहित बनाएको बताए । ‘हामी आफ्ना फाईदाका लागि मात्रै नभई समग्र अर्थतन्त्रको सुधारका लागि माग राख्दै आएका छौं,’ कार्यक्रममा बोल्दै उनले भने, ‘सोही सुझावहरुलाई सरकारले यसपाली कानुन र बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउनेगरी व्यवस्था गरिदिएको छ ।’
निजी क्षेत्रले दिएका धेरै सुझावहरु बजेटमा समेटिँदै गर्दा यसमा समेटिएका सुझावहरुलाई कार्यान्वयनमा भने सरकार चुक्न नहुने उनले बताए ।
यसअघि पनि निजी क्षेत्रले समग्र अर्थतन्त्र उन्नयनका लागि माग गरेका बिषयहरु बजेटमा समेटिएपनि सोही अनुसार कार्यान्वयन नहुने भएपछि भने निजी क्षेत्र जहिले निरुत्साहित हुँदै आएको बताए ।
आगामी आवको बजेटले नयाँ आँट गरेको पनि उनले बताए । ‘हामीले पहिलेदेखि नै भन्दै आएको नेपालको खनिज पदार्थ निर्यात गर्न दिनुपर्छ भन्ने माग बजेटले समेटेकोमा हामी उत्साहित छौँ, उनले भने, ‘उद्योगले गर्नुपर्ने सबै प्रक्रिया पुरा गरेर खनिजजन्य वस्तुहरु निर्यात गर्न सकिने व्यवस्था माग गर्दै आएका थियौं यसपल्ट बजेटमा समेटिएकाले यो व्यवस्था कार्यान्वयनमा पछि पर्नुहुँदैन ।’