काठमाडौं । भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेदिक कम्पनीले पूर्वी नवलपरासीको दुम्कौलीमा कन्या गुरुकुल सञ्चालन गर्ने भन्दै सुरु गरेको संरचना निर्माणको काम रोकेको छ । डेढ वर्षअघि करिब २७ बिघा जग्गा खरिद गरेर पतञ्जलिले गुरुकुल सञ्चालनको योजना अघि बढाएको थियो ।
रामदेवका सहयोगी आचार्य बालकृष्ण नेतृत्वको टोली नै आएर नारायणी किनारमा रहेको मेघापार्कमा कन्या गुरुकुल सञ्चालन गर्ने योजना बनाएको थियो । जग्गा हेर्न आएका बालकृष्णले आफ्नो फेसबुकमा दुम्कौलीको मेघापार्क खरिद गरेर कन्या गुरुकुल सञ्चालन गर्ने भन्दै तस्बिरसहित पोस्ट गरेका थिए ।
यो जग्गा देवचुली नगरपालिका–१ मा पर्छ । सिद्धकुमार एन्ड सन्स र सिद्धकुमार श्रेष्ठको नाममा दर्ता रहेको १७ बिघा जग्गा र त्यस आसपासको करिब १० बिघा ऐलानी जग्गाको संरचना पतञ्जलिले खरिद गरेको थियो ।
व्यवसायी श्रेष्ठले यहाँ ११ वर्षदेखि भौतिक संरचना निर्माण गर्दै आएका थिए । उनले आफ्नो १७ बिघा र आसपासमा रहेको ऐलानी जग्गामा होटल, पार्टी प्यालेस र सभाहल पार्क निर्माण गरेका थिए । भिल्ला प्रकृतिको रिसोर्टमा करिब दुई हजार मानिस अट्ने सभाहल पनि छ । पतञ्जलिले खरिद गर्नुअघि सञ्चालनमा रहे पनि रिसोर्टका केही संरचना निर्माणाधीन अवस्थामा थिए ।
यो मेघापार्कमा कन्या गुरुकुल वैदिक स्कुल सञ्चालन गर्ने भन्दै बालकृष्णको निर्देशनअनुसार काम भइरहेको छ । यसका लागि पतञ्जलिले भारतको हरिद्वारबाटै इन्जिनियर झिकाएर संरचना ुरिनोभेटु र रंगरोगनका काम गरिरहेको थियो । कन्या गुरुकुलका लागि काम बढाइए पनि वेलनेस सेन्टर सञ्चालनको समेत तयारी थालिएको स्रोतको भनाइ छ ।
जग्गा खरिदका लागि २५ करोडमा कागज भएको र १७ करोड पतञ्जलीले जग्गाधनी श्रेष्ठलाई बुझाइसकेको जानकारहरू बताउँछन् । देवचुली–१ का वडाध्यक्ष कृष्ण केसीले योगपीठले लिएको जानकारी पाएको र जग्गा रजिष्ट्रेसन पास गर्नका लागि आइनसकेको बताए । ‘जग्गाको कुराकानी भएर पास गर्नका लागि सिफारिस लिन आउने कुरा भएको थियो, तर अहिलेसम्म आउनुभएको छैन,’ उनले भने ।
पतञ्जलिका तर्फबाट यहाँ खटिएका व्यवस्थापक डोलराज गैरेले आउँदो दसैं आसपास गुरुकुल सुरुवात हुन सक्ने बताए । ‘दसैं आसपासमा आचार्य बालकृष्ण र रामदेव गुरुमध्ये एकजना आएर काम सुरु हुने सम्भावना छ,’ उनले भने । त्यतिबेला भारतीय चर्चित धर्मगुरु धिरेन्द्र शास्त्री पनि आउने कार्यक्रम रहेको उनको भनाइ छ । आचार्य बालकृष्णको निर्देशन र इन्जिनियरको डिजाइनअनुसार केही भौतिक संरचना निर्माणको क्रममा रहे पनि हाल रोकिएको गैरले बताए ।
‘५ बिघामा धान लगाएका छौं । तरकारी खेती पनि छ । घाँस काट्ने, घर कुर्ने मान्छे छौं । अरु धेरै जानकारी छैन,’ गैरेले भने, ‘पतञ्जली योगपीठ हरिद्वारबाट आउनुभएकी एकजना दिदी र मैले यहाँको संरचना कुरेर बसेका छौं । निर्माण कार्य हाल विभिन्न हल्लाका कारण रोकिएको छ ।
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट पाएको हदबन्दी छुटको जग्गा हिनामिना अभियोगमा तत्कालीन प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध केही दिनअघि मात्रै भ्रष्टाचार मुद्दा दायर भएको छ । त्यसमा पतञ्जलिका नेपाल प्रमुख शालिग्राम सिंह पनि छन् । सिंहका नाममा नाममा काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक लगायत देशका विभिन्न स्थानमा गैरकानुनी तरिकाले हदभन्दा बढी जग्गा खरिद तथा भोगचलन गरेरगराएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भनाइ छ । सिंहविरुद्ध सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा पनि अनुसन्धान सुरु गरिएको छ । कान्तिपुरबाट