काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १७ को स्वास्थ्य प्रवर्धन केन्द्रका लागि निर्माण गरिएको भवनको उद्घाटन गरिएको छ । महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले एक कार्यक्रमबिच शिलापत्र अनावरण गरेर भवन उद्घाटन गरेका हुन् ।
भवन ‘स्वास्थ्य प्रवर्धन केन्द्र तथा भवन निर्माण तथा सामुदायिक पुस्तकालय उपभोक्ता समिति’ले निर्माण गरेको हो । त्यस अवसरमा प्रवक्ताको रोहवरमा समितिका अध्यक्ष उर्मिला कनौजिया (मगिया)ले भवनको साँचो वडा सदस्य जितेन्द्र खड्गीलाई हस्तान्तरण गरेकी थिइन् । यस्तै खड्गीले प्रवर्धन केन्द्रका इञ्जार्ज सरस्वती पनेरुलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रवक्ता मानन्धरले, जनप्रतिनिधिको सेवाप्रति समान दृष्टि रहेको, यस दृष्टिलाई स्थानीयवासीले अपनत्व ग्रहण गरेको र साझेदारबिच नजिक समन्वय भएकोले भवन निर्माण सम्भव भएको उल्लेख गर्दै विकासमा स्थानीयवासीको सहभागिता अपरिहार्य हुने धारणा राखे ।
पछिल्लो समय मानव स्वास्थ्यमा देखिएका रोगहरूको उपचार पद्धतिको जटिलतामा कुरा गर्दै मानन्धरले भने, ‘जीवनभर कमाएको पैसाले उपचार गर्दा पनि निको बनाउन नसकिने अवस्था आउन दिनु हुँदैन । यसका लागि आज स्वास्थ्यप्रति सचेत भएर निदानात्मक उपाय अवलम्बन गर्नु पर्छ । यो स्वास्थ्य शिक्षा क्षेत्रको कार्यक्रम हो । सावधानी अपनाउँदा अपनाउँदै उपचारमा जानु पर्ने अवस्थामा सहज, सरल र सुपथ सेवा प्राप्त गर्नुपर्छ ।’