तनहुँ । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाले विपन्न परिवारका लागि ४८ वटा आवास निर्माण गरेर हस्तान्तरण गरेको छ । गाउँपालिकाले ‘नमूना आवास कार्यक्रम’ अन्तर्गत घर निर्माण गरेर सम्बन्धीत ४८ परिवारलाई हस्तान्तरण गरेको हो ।
पहिलो चरणमा आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय सरकारको समपूरक कोष र गाउँपालिकाको बराबरी हिस्साबाट एक करोड बजेट विनियोजन गरिएको थियो । उक्त बजेटमध्ये रु ८१ लाख ४३ हजार ३९६ मा म्याग्दे मूलबाराही निर्माण सेवाले ठेक्का सम्झौता गरी १६ वटा घर निर्माण गरेको हो ।
त्यसैगरी, चालु आर्थिक वर्षमा रु तीन करोड नौ लाखको समपूरक बजेटबाट थप ३२ वटा घर निर्माण सम्पन्न गरिएको छ । यसका लागि रु एक करोड २० लाख सङ्घीय सरकारले र बाँकी रकम गाउँपालिकाले विनियोजन गरेको हो । पासा शुक्ला जेभीले रु दुई करोड ७३ लाख ५९ हजार ३७४ मा ठेक्का सम्झौता गरी ती घर निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका–१ मा सात, वडा नं २ मा सात, वडा नं ३ मा ६, वडा नं ४ मा आठ, वडा नं ५ मा ६, वडा नं ६ मा ६ र वडा नं ७ मा आठवटा घर निर्माण गरिएका छन् ।