काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा पोस्टमार्टम गृह निर्माण सम्पन्न भएको छ । वडा नम्बर ६ मुक्लिमा रहेको थुलुङ दुधकोशी अस्पताल नजिकै भवन निर्माण गरी शव पोस्टमार्टम गृह सञ्चालनमा ल्याइएको हो ।
सोमवार गाउँपालिका अध्यक्ष असिम राईले भवनको उद्घाटन गरेका हुन् । गाउँपालिकाको आफ्नै लगानीमा भवन निर्माण गरी कानुनीरूपमै शवको पोस्टमार्टम गृह सञ्चालन गरी सोलुकै सोताङ, महाकुलुङ र थुलुङ दुधकोशी गाउँपालिका लागि पोस्टमार्टम गर्न सहज बनाइएको अध्यक्ष राईले बताए ।
‘एउटा शव फाप्लु पुर्याएर पोस्टमार्टम गर्दा ५० हजार रुपैयाँसम्म खर्च हुने अवस्थाको अन्त्य भएको छ,’ अध्यक्ष राईले भने, ‘यो पोस्टमार्टम गृहले सोलुको ३ पालिका मात्रै नभएर खोटाङको ऐंसेलुखर्कका नागरिकलाई पनि सहज हुने भएको छ ।’
विभिन्न घटनामा ज्यान गुमाएकाको पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु नै शव ल्याउनु पर्ने बाध्यता थियो ।
गाउँपालिकाको ११ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राईले जानकारी दिए ।