काठमाडौं । निर्माण सम्पन्न भएका करिब ७० वटा आधारभूत अस्पताल आगामी साउन एक गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विनियोजन विधेयक २०८२ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बन्धित विनियोजित शीर्षकहरु माथि उठेका सवालहरुको जवाफ दिँदै निर्माण सम्पन्न भएका आधारभूत अस्पताल साउनबाट सञ्चालनमा आउने जानकारी दिएका हुन् ।
उनले निर्माण सम्पन्न भएका आधारभूत अस्पतालको तीनै तहको सहकार्यमा सङ्घीय सरकारबाट चिकित्सकसहित औजार उपकरण उपलब्ध गराई साउन १ गतेदेखि सञ्चालनमा ल्याइने बताए।
निर्माणाधीन आधारभूत अस्पतालको सम्पन्नता र निर्माण सुरु नभएका स्थानीय तहमा सुरुआत गर्न रणनैतिक स्थानको म्यापिङ्ग गर्ने कार्य भइरहेको समेत मन्त्री पौडेलले जानकारी दिए ।