बागलुङ। नेपाली कांग्रेस बागलुङले आफ्नै भवन निर्माण गर्नका लागि साढे सात लाख भन्दा बढी रकम संकलन गरेको छ। नवनिर्वाचित कार्य समितिले आफ्नै पार्टी कार्यालय निर्माण गर्नका लागि पहिलो चरणमा सात लाख ६२ हजार एक सय ५१ रुपैयाँ संकलन गरेको हो।
आर्थिक सङ्कलन अभियानमा पहिलो चरणमा कार्य समिति भित्रबाटै आर्थिक सङ्कलन गर्न शुरु गरिएको थियो, जसबाट उक्त रकम संकलन भएको हो।
जिल्ला सदस्य धर्मबहादुर क्षेत्रीले दुई लाख ५० हजार, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले दुई लाख एक हजार १५१, जिल्ला सदस्य तेजेन्द्रविक्रम कुँवरले एक लाख, कृष्णबहादुर घिमिरेले एक लाख र टीकाराम थापाले एक लाख ११ हजार सहयोग गरेका छन्।
आगामी एक वर्ष नसके दुई वर्षभित्रै पार्टीको आफ्नै भवन हुने बताइएको छ। बागलुङ कांग्रेसका अनुसार जग्गा व्यवस्थापनसहित भवन निर्माण गर्ने गरी योजना बनाएर आर्थिक व्यवस्थापनमा पार्टी लागेको छ। पार्टीको आफ्नै भवन नहुँदा व्यक्तिका घर भाडामा लिएर पार्टी सञ्चालन गर्दा समस्या भएको बागलुङ कांग्रेसले जनाएको छ।