काठमाडौं। धनुषाको हंसपुरमा १० शैय्याको प्राथमिक अस्पताल भवन निर्माण हुने भएको छ। हंसपुर नगरपालिका कार्यपालिकाको कार्यलयले उक्त अस्पताल निर्माण गर्न लागेको हो।
जिल्लामै पालिकास्तरीय अस्पताल भवन निर्माण गर्ने योजनाका साथ नगरपालिकाले अस्पताल भवन निर्माणको प्रक्रियालाई अघि बढाइएको छ। सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार हंसपुरमा अस्पताल भवन निर्माण गर्न लागिएको हो। सो क्षेत्रको प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच पुर्याउने उद्देश्यले अस्पताल निर्माण गर्न लागिएको नगरपालिकाको कार्यलयले जनाएको छ।
अस्पताल निर्माण भएपछि नगर पालिकामा नै गुणस्तरीय स्वस्थ्य सेवा प्रदान गर्ने नगरपालिकाको लक्ष्य रहेको छ। सो क्षेत्रमा अस्पताल भवन निर्माण नहुँदा कयौंले अकालम नै ज्यान गुमाउनु परेको छ। नगरपालिकाले अस्पताल भवन निर्माणको लागि बोलपत्र आह्वान गरेको छ। सो अस्पताल भवन निर्माणको अनुमानित लागत करिब २० करोड रहेको छ। आधारभुत सेवा र सुविधासहितको अस्पताल भवन निर्माणमा नगरपालिका अग्रसर भएको छ। यसले स्वस्थ्य क्षेत्रको विकासमा पनि टेवा पुग्ने देखिएको छ।