झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ मा निर्माण भएको भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरिएको छ । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहबीच अस्पतालको उद्घाटन गरेका हुन् ।
तत्कालीन बुधवारे गाउँ पञ्चायतको प्रधानपञ्च रहेकी स्व.भागीरथा न्यौपानेको नाममा नामाकरण गरिएको अस्पताल उनकै स्मृतिमा निर्माण भएको हो । उनका छोराहरुले दिएको १५ कठ्ठा जग्गामा अस्पताल भवन निर्माण गरिएको छ । उनी नेपालकै पहिलो महिला प्रधानमञ्च हुन् । छ करोड ५० लाखको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो ।
अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्टसहित छ जना चिकित्सकले उपचार सेवा प्रदान गरिरहेका छन् । जसमध्ये पालिकाले आफ्नै स्रोतबाट तीन जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ ।