काठमाडौं। दोलखाको तामाकोशी गाउँपालिका–४ मालुमा १० शैय्याको प्राथमिक अस्पताल भवन निर्माण हुने भएको छ। तामाकोशी गाउँ कार्यपालिकाको कार्यलयले जफे, दोलखाले उक्त अस्पताल भवन निर्माण गर्न लागेको हो।
गाउँपालिकाले पालिकास्तरीय अस्पताल भवन निर्माण गर्ने योजनाका साथ अस्पताल भवन निर्माणको योजना अघि बढाइएको छ। सङ्घीय सरकारको हरेक पालिकामा ५/१० र १५ शैय्याको आधारभूत तहको अस्पताल निर्माण गर्ने नीति अनुसार तामाकोशी गाउँपालिकाले मालुमा अस्पताल भवन निर्माण प्रक्रिया अघि बढाएको छ। उक्त गाउँपालिकामा बसोबास गर्दै आएका प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच पुर्याउने उद्देश्यले अस्पताल निर्माण गर्न लागिएको गाउँपालिकाको कार्यलयले जानकारी दिएको छ।
अस्पताल निर्माण भएपछि पालिकामै गुणस्तरीय स्वस्थ्य सेवा प्रदान गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ। अस्पताल भवनको अभावमा समयमा नै उपचार नपाएर बृद्धदेखि बच्चा र गर्भवती महिलाले अकालमा नै ज्यान गुमाउनु परेको हाली लाग्दो घटनालाई अन्त्य गर्ने उद्देश्यका साथ अस्पताल भवन निर्माण थालिएको हो। उक्त अस्पताल भवन निर्माण गर्नको लागि प्रतिष्ठा–प्रेरा जेभी निर्माण कम्पनीले करिब १४ करोड ५७ लाख ठेक्का कबोल गरेको छ। हाल सो आयोजना ठेक्का सम्झौताको चरणमा रहेको छ। अस्पताल भवन निर्माणले दोलखाको स्वास्थ्य क्षेत्रको विकासमा पनि टेवा पुग्ने देखिएको छ।