रसुवा। लाङ्टाङमा अस्पताल निर्माणका लागि स्थानीयले जग्गा दान गरेका छन्। मकवानपुर र हेटौँडामा सञ्चालित सिद्धस्थल रूरल कम्युनिटी अस्पतालले आफ्नो शाखाका रूपमा मुण्डु क्षेत्रमा अस्पताल सञ्चालन गर्ने भएपछि स्थानीयले जग्गा दान गरेका हुन्।
जग्गा दान गर्नेमा गोसाइँकुण्ड गाउँपालिका–४ का सोनामदोर्जे तामाङ, तेन्जेन स्याङ्बा र छिरिङदावा तामाङ रहेका छन्। उनीहरुले दुई रोपनी पाँच आना दुई दाम जग्गा दान गरेका हुन्।
रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेको प्रस्तावमा मुण्डुमा अस्पताल निर्माण गर्न गृहकार्य अगाडि बढाइएको बताइएको छ। हाल अमेरिकामा बस्ने डा अवन गौतमको समेत सहयोग रहने उक्त अस्पताल आगामी २०८० सालभित्र सञ्चालनमा ल्याइने बताइएको छ।