हेटौंडा । हेटौंडाको कर्रामा विभिन्न दाताहरुको सहयोगमा चार वर्ष लगाएर निर्माण भएको गुम्बाको उद्घाटन भएको छ । हेटौंडा उपमहानगरपालिका कर्रामा रहेको सुखवती भुवन टासी जम्बुलिङ गुम्बा परिसरमा निर्माण भएको गुम्बाको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले उद्धघाटन गरेकी हुन् ।
गुम्बा उद्घाटन गर्दै नगर प्रमुख लामाले लामो समयदेखि ओझेलमा परेको यो क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताइन् । करिब ३४ वर्ष अघिबाट गुम्बा क्षेत्रको रुपमा विकास हुन लागेको कर्राको यो भेगले सोचे अनुरुप विकासको गति नलिएको उनले बताइन् । बजार क्षेत्रमा रहेपनि उपल्लो तहमा पहुँच अभावका कारण ओझेल पर्दै आएको यस क्षेत्रमा अब उपमहानगरले विकासको गति अघि बढाउने मेयर लामाको भनाइ छ । उनले गुम्बाको पूर्वाधार विकासका लागि पनि पालिकाले सहयोग गर्ने बताइन् ।
कर्रा पुलको दक्षिण भागबाट गुम्बा जाने बाटोलाई व्यवस्थित बनाउने काममा उपमहानगर लाग्ने उनले बताइन् । उनले सडकलाई व्यवस्थित बनाएपछि अन्य विकसको काम अघि बड्ने बताइन् । २०७८ सालमा हेटौंडा उपमहानगरपालिका ९ र १० नम्बर वडा कार्यालयको गरी ३४ लाख रुपियाँ बजेटमा सुरु भएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।
गुम्मा निर्माणमा सहयोग पर्याएको भन्दै कार्यक्रममा उपमहानगर र ९ र १० नम्बर वडालाई सम्मान पत्र प्रदान गरीएको थियो । समितिका अनुसार स्थानिय निकाय बाहेक विभिन्न क्षेत्रका व्यक्तिहरुले पनि गुम्बा निर्माणमा आर्थिक तथा अन्य सामग्री सहयोग गरेका छन् । भवन तयार भएपनि गुम्बामा हुनु पर्ने अन्य कामहरु बाँकी रहेको बताइएको छ ।