काठमाडौं । बागमती प्रदेशसभाको नयाँ भवन उद्घाटन गरिएको छ । मंगलवार प्रदेशसभाको प्रि–फ्याब भवनको बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले उद्घाटन गरेका हुन् ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा निर्माण गरिएको उक्त भवनको साँचो भौतिक पूर्वाधार विकासमन्त्री डा.दिनेश चन्द्र देवकोटाले बागमती प्रदेशका सभामुख पाठकलाई हस्तान्तरण गरे । साँचो हस्तान्तरणपश्चात् सभामुखले प्रदेश सभा भवन उद्घाटन गरेका छन् ।
१८ महिनामा सम्पन्न गर्नुपर्ने उक्त भवन निर्माण व्यवसायीको ढिलाइका कारण निर्माण सम्पन्न हुन ५ वर्ष लागेको हो । दुई चरणमा ठेक्का लगाएर उक्त भवनको काम सकिएको थियो ।
२०७७ साल मंसिर १० गते शिलान्यास गरिएको २५० जना अट्ने उक्त सभा हल ईपीएस स्यान्डबीच प्रविधिबाट निर्माण हुने गरी सहरी विकास तथा भवन कार्यालय हेटौंडाले २०७७ कात्तिकमा ठेक्का आह्वान गरेको थियो । अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले १८ महिनामा काम सक्ने भने पनि ५ वर्षमा तयार पारेको हो ।
हेटौंडा उपमहानगरपालिका—१० मा निर्माण गरिएको उक्त प्रदेश सभा भवन १२ करोडको २९ लाखको लागतमा तयार भएको हो ।