बाजुरा । बाढीले बाजुरा जिल्लाको हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ वटा घर बगाएको छ । बुधवार राति विच्छ्या खोलामा आएको बाढीले ११ घर बगाएको, ७ घरमा क्षति र १७ घर जोखिममा परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कवाडी प्रहरी चौकीको टोली बाढी प्रभावित क्षेत्रमा गएर तथ्याङ्क सङ्कलन गरेको छ ।
बाढीले सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनासमेतमा क्षति पुगेको छ । १ नम्बर वडा कार्यालय, विच्छ्या मावि, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन् झोलुङ्गे पुल, नेटा र देउसैनको पानी घट्टसमेत जोखिममा छन् ।
बाढीले पुर्याएको क्षतिको अवस्था अनुगमन गर्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ । अध्यक्ष मल्लको टोलीले तीन वटै वडामा बाढीले पुर्याएको क्षतिको अवस्था र प्रभावितको अवस्था बुझ्न विच्छ्या गएका हुन् ।