चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको ९ वटा भवनको २५ वर्षपछि एकै पटक नक्सापास गरिएको छ । र भवन निर्माणको क्रममा कुनै पनि भवनको नक्सा पास नरहेकाले सबैको नक्सा बनाएर अभिलेखीकरण गरिएको हो ।
सबै भवन निर्माणका लागि विसं २०४९ मा शिलान्यास गरिएको थियो । भवन निर्माण गरेर विसं २०५६ बाट अस्पताल नियमित सञ्चालनमा आएको थियो । हाल पेट स्क्यान र बोनम्यारो प्रत्यारोपणका लागि भवन निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएपछि बल्ल भरतपुर महानगरपालिकामा भवनहरूको अभिलेखीकरण गरिएको हो ।
भवनको नक्सा बनाउन रु २२ लाख हाराहारी खर्च भएको छ । अभिलेखीकरणका लागि महानगरपालिकामा रु एक करोड ७८ लाख राजस्व बुझाएको छ।
यी अस्पताल भवन चीन सरकारले निर्माण गरिदिएको हो । पछिल्लो समय केही भवन भने नेपाल सरकारले निर्माण गरेको थियो ।