कास्की । पोखरा महानगरपालिका–३ नदीपुरस्थित गण्डकीको प्रदेशसभा भवन निर्माण हुने भएको छ । मंगलबार भवन निर्माणका लागि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गरेका हुन् ।
प्रदेश सरकारको २५ करोड रुपैयाँ लगानीमा ७ रोपनी क्षेत्रफलमा भवन निर्माण हुने भएको छ ।
शिलान्यासपछि बोल्दै मुख्यमन्त्री पाण्डेले आफूहरूकै कार्यकालमा सकिने गरी काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । उनले भन, ‘निर्माण अवधि ३ वर्षको भएप नि २ वर्षमै सकिदिनुस् । हाम्रै कार्यकालमा सभा बस्न मिल्ने गरी काम गरिदिनु होला ।’
भवन निर्माणका लागि शहरी विकास तथा भवन कार्यालय कास्की र श्रेष्ठ एन्ड सन्स–इस्ट वेस्ट जेभी, नयाँबानेश्वर काठमाडौंबीच भ्याटसहित २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा ०८१ माघ १८ मा सम्झौता भएको थियो । ३६ महिना भित्र निर्माण कार्य सक्नुपर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता गरिएको कार्यालय प्रमुख सीडीई ओमराज ढुंगानाले बताए ।