कालिकोट। कालिकोटको नरहरिनाथ–७ माल्कोट रातीमाटास्थित शान्ति माविको भवनमा पहिरोले क्षति पुर्याएको छ । गत असारमा निर्माण सम्पन्न भएको भवनमा सोमबार वर्षासँगै आएको पहिरोले क्षति पुर्याएको हो ।
पहिरोले पक्की भवनको पछाडि पूरै भत्किएको, एक पिलर भाँचिएको, अगाडिको भाग पनि चर्किएर बस्नै नमिल्ने भएको विद्यालयले जनाएको छ ।
पहिरोले पूरै विद्यालय नै जोखिममा रहेकाले मंगलबार पठनपाठन बन्द गरेर विद्यार्थी घर पठाइएको छ। पहिरोले विद्यालयको खानेपानी, १० वटा डेस्कबेन्च, एक टेबल र ५ सय लिटरको पानी खाने ट्यांकी पनि क्षति पुर्याएको विद्यालयले जनाएको छ ।
विद्यालयको भवन भत्किएपछि मंगलबार विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर पठनपाठन सुरु गर्न शिक्षक, अभिभावक र सरोकारवालासँग सुझाव लिने निर्णय भएको छ ।