काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको काम कार्यतालिका अनुसार गर्न निर्देशन दिएका छन् । निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिका बमोजिम काम भएको नपाइएपछि उपप्रधानमन्त्री सिंहले आज मन्त्रालयमा बोलाएर निर्माण कम्पनीलाई यस्तो निर्देशन दिएका हुन् ।
सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनमा संसदीय समिति, प्रधानमन्त्री, राष्ट्रपति सहित सबै नागरिकको चासो जोडिएको भन्दै उपप्रधानमन्त्री सिंहले समन्वयात्मक रूपमा अघि बढ्न भनेका छन् ।
उनले भने, ‘कुनै हालतमा काम हुनैपर्छ । समन्वयात्मक रूपमा अघि बढ्नुहोस् । कन्ट्र्याक्टरले दिएको कार्यतालिका बमोजिम काम गर्नुहोस् ।’
उनले संसद् भवनकै कारण मन्त्रालयको पर्फर्मेन्समा प्रश्न उठेको भन्दै केही समस्या परे मन्त्रालयले समन्वय गर्ने भन्दै काममा आलटाल स्वीकार्य नहुने बताए । सिंहले निर्माण कम्पनीलाई नियमित प्रगति विवरण पेस गर्न र भवन विभागलाई कामको नियमित अनुगमन गर्न निर्देशन पनि दिए ।