रौतहट। नेपाल विद्युत प्राधिकरण गौर शाखाले विद्युत चोरी गर्ने व्यक्ति तथा संस्थाबाट २० लाख भन्दा बढी जरिवाना असुल गरेको छ।
गौर शाखाले गत मंसिर महिनामा विद्युत् चोरी गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कारबाही गर्दा २० लाख ३० हजार ५४० रुपैयाँ जरिवाना असुल गरेको हो।
मिटर नै नराखि हुकिङ्गमार्फत विद्युत चोरी गर्ने ११६ जना र मिटर भएर पनि चोरी गर्ने १३ जनालाई कारबाही गरेको शाखाले जनाएको छ।
चुहावट गर्ने व्यक्तिहरूको साथबाट पानी तान्ने मोटर, विभिन्न विद्युतीय उपकरण तथा तारहरू समेत बरामद गरेको छ।
विद्युत्को मिटर बिनानै पोलको तारबाट हुकिङ्ग गरेर प्रयोग गरिरहेको अवस्थामा फेला परेपछि एक स्वास्थ्य चौकीलाई समेत कारवाही गरिएको छ।
सुरक्षाकर्मीसहितको प्राधिकरण टोलीले गाँउघरमा विद्युत् चोरी गर्नेहरूलाई पक्राउ गरेर सामान जफत गर्ने र जरिवानासमेत गराउन थालेपछि जिल्लामा चुहावट कम हुन थालेको प्राधिकरणले जनाएको छ।