काठमाडौं । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने ईन्द्रसरोवर गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ईन्द्रसरोवर गाउँपालिकाको केन्द्र रहेको खानीखेतमा निर्माणाधीन भवनको काम ८० प्रतिशत सम्पन्न भएको हो ।
२०७८ कात्तिकमा सम्झौता गरी ५ तले ३६ कोठे भवन निर्माण भइरहेको छ । सम्झौता अनुसार ०८२ चैत मसान्तसम्म निर्माण कार्य सकिसक्नु पर्ने छ । उमा–मनकामना आरवी जेभी निर्माण कम्पनीले निर्माण कार्यको ठेक्का लिएको छ ।
करिब चार रोपनी जग्गामा १० करोड ७४ लाखको लागतमा उक्त कार्यालय भवन बनिरहेको छ ।ईन्द्रसरोवर गाउँपालिकाको २ नम्वर वडा कार्यालय भवनबाट पालिकाका बासिन्दालाई सेवा दिँदै आएको छ । स्वास्थ्य, कृषिलगायत शाखाहरु अन्य संघ–संस्थाका भवनमा आश्रय लिएर बसेका छन् ।