सिरहा । सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको पुल निर्माणमा जनप्रतिनिधिहरुले चासो देखाएका छन् । कमला नगरपालिकाका प्रमुख विशेश्वर यादवको अध्यक्षतामा जिल्लाका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको उपस्थितिमा पुल निर्माणमा भइरहेको अलपत्र अवस्थाबारे छलफल गरिएको हो ।
कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिले हालको डिजाइनमा कमला पुल निर्माण सम्भव नभएको निष्कर्ष निकाल्दै अब नयाँ डिजाइन, इस्टिमेट र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पुनःनिर्माण प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।
पुलको मर्मतसम्भार तथा पुनःनिर्माणका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी अल्पकालीन र दीर्घकालीन समाधान खोज्न पनि सहभागीले एकमत भएर निर्णय गरेको बरियापट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले जानकारी दिए ।
विसं २०६८ मा सुरु भएको पुल निर्माण अहिलेसम्म पनि अधुरै रहँदा स्थानीय जनताको दैनिकीमा ठूलो असर परेको छ । बाढी, लापरवाही र ठेकेदारको गैरजिम्मेवारीले निर्माण प्रक्रिया पटकपटक अवरुद्ध भएको हो ।